रामकुमारी झाँक्रीको बयान : राष्ट्रपतिको अपमान गरेको छैन र गर्ने पनि छैन

रामकुमारी झाँक्रीको बयान : राष्ट्रपतिको अपमान गरेको छैन र गर्ने पनि छैन

काठमाडौँ : राष्ट्रपतिको मान मर्दन गरेको आरोपमा राज्य विरुद्धको अपराधमा बिहीबार मध्यान्ह पक्राउ परेकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री साँझ नियन्त्रणमुक्त भइन्।

महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहान १० बजे बयानका लागि कार्यालयमा बोलाएको थियो। तर उनी कार्यालयमा उपस्थित नभएपछि अपराध संहिता २०७४ को दफा ५८ अनुसार राष्ट्रपतिको अनादर गरेको आरोपमा महाशाखाको टोलीले उनको घरमै पुगेर नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएसँगै नेकपा दाहाल–नेपाल समूह विरोधमा उत्रिएको थियो। महाशाखाको कार्यालयमा पुगेकी उनले प्रारम्भमा बयान दिन अस्वीकार गरेकी थिइन्। पछि उनी तयार भइन्। 

महाशाखाको मुद्दा शाखाको प्रहरीले उनलाई गोरखाको विषयमा के हो ? राष्ट्रपतिविरुद्ध बोलेको हो हैन भनेर सोधेका थिए।

उनले सोधपुछमा ‘संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै छ’ भनेकी थिइन्। राजनीतिमा सक्रिय रहेकाले गोरखामा राजनीतिक भाषण गरेको अन्यथा केही हैन, राष्ट्रपतिप्रति भोलि पनि उत्तिकै सम्मान रहनेछ’ भनेपछि प्रहरीले अनुसन्धान अगाडि बढाउनु पर्ने नदेखिएको भन्दै उनको श्रीमान्लाई जिम्मा लगाएर छाडेको थियो।

‘उहाँले संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै छ भनेर लिखित कागज गरेपछि हामीले उहाँलाई छाड्यौ,’ अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापाले उकेरासँग भने।

प्रहरीको नियन्त्रणबाट मुक्त भएपछि उनले आफूलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा पक्राउ गरिएको दाबी गरेकी थिइन्।

उनीसँगको लिखित सोधपुछको  सम्पादित अंश:

संवैधानिक राष्ट्रपतिप्रतिको मेरो सम्मान हिजो, आज र भोलि पनि उत्तिकै छ। मैले नेपालको संविधानले दिएको वाक स्वतन्त्रता सम्बन्धी अधिकार अनुसार र म राजनीतिमा समेत संलग्न रहेकाले राजनीतिक भाषण गरेको हुँ। प्रचलित कानुनको पालना गरी अभिव्यक्ति स्वतन्त्रताको हक र राजनीतिक स्वतन्त्रताको हक उपयोग गरेको मात्र हो। अन्यथा केही हैन। राष्ट्रपतिको अपमान गरेको छैन र गर्ने पनि छैन।

 

माघ २९, २०७७ बिहीबार २०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।