लुम्बिनीका मुख्यमन्त्रीको दाबी– निर्वाचनबाटै देशको संकट समाधान 

लुम्बिनीका मुख्यमन्त्रीको दाबी– निर्वाचनबाटै देशको संकट समाधान 

बुटवल  : लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहका नेता शंकर पोखरेलले निर्वाचनबाटै देशको संकट समाधान हुने दाबी गरेका छन्।

आगामी फागुन १ गते बुटबलमा आयोजना गरिन लागिएको जनसभाबारे जानकारी दिन नेकपा लुम्बिनी प्रदेशको प्रचार विभागले आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।  

‘जनमतमा जाने कुरा लोकतन्त्रको आधारभूत पक्ष हो। हामी जनतालाई न्यायाधीश बनाउन चाहन्छौं। ओलीलाई तानाशाही भन्नेलाई चुनावले फैसला गरेर देखाउँछ,’ उनले भने। 

प्रधानमन्त्रीलाई असफल बनाउने खेल अन्त्य गर्न निर्वाचनमा जानु परेको उनको स्पष्टोक्ति छ। नेकपा विवादको कारण प्रतिनिधिसभा विघटन भएको उनले तर्क गरे। 

मुख्यमन्त्री पोखरेलले उक्त जनसभा ऐतिहासिक र ठूलो हुने दाबीसमेत गरेका छन्। उनले भने, ‘फागुन १ गते आफैमा महत्त्वपूर्ण दिन हो। तत्कालीन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको दिन हो। यसलाई हामीले महत्त्वपुर्ण र ऐतिहासिक दिनको रूपमा लिएका छौं।’ 

उनले थपे, ‘हिजो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको नाममा जनयुद्ध गरेर हजारौंलाई शहिद बनाए। हामी फागुन १ गतेबाट राष्ट्रमा देखिएको समस्या हल गर्नतर्फ लाग्छौं।’ 

सभामा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट लगायतका नेताहरूले सम्बोधन गर्ने तयारी छ। 

माघ २९, २०७७ बिहीबार १९:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।