राष्ट्रपतिप्रति सम्मान छ भनेपछि छाडियो रामकुमारीलाई

राष्ट्रपतिप्रति सम्मान छ भनेपछि छाडियो रामकुमारीलाई

काठमाडौँ : राष्ट्रपतिको मानमर्दन गरेको आरोपमा पक्राउ परेकी नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको लिखित बयान दिएपछि रिहा भएकी छिन्।

महानगरीय प्रहरी अपराध महाशाखामा उनले' सम्मानित राष्ट्रपति प्रति मेरो हिजो पनि सम्मान थियो,आज पनि छ र भोलि पनि रहनेछ' भनेर लिखित बयान दिएकी छिन्।
बयानमा उहाँले राष्ट्रपतिप्रति सम्मान रहेको बताएकाले आजै रिहा गरियो' महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने।

गोरखामा नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको कार्यक्रममा सम्बोधनकोक्रममा राष्ट्रपति बडामहारानी बनेको भनेपछि झाक्री विवादमा आएकी थिइन्। उनले सम्बोधनमा भनेकी थिइन्'राष्ट्रपतिको कुरा त के गर्नु। बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि कार गेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस्। चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ। हैन भने बालकोटै गए पनि हुन्छ। र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस्। तपाईँसँग म पनि अलि भारी हुन्छ होला। यही रेखा लोप्चनलाई चुनाव लडाउँछौँ र हराउँछौँ। तपाईँका लागि म पनि भारी हुन सक्छु।'

माघ २९, २०७७ बिहीबार १८:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।