बडामहारानी शब्दले नेकपा नेत्री झाँक्रीलाई पुर्यायाे प्रहरी हिरासतमा

बडामहारानी शब्दले नेकपा नेत्री झाँक्रीलाई पुर्यायाे प्रहरी हिरासतमा

काठमाडौँ : राष्ट्रपतिलाई डर वा त्रास देखाएको आरोपमा पक्राउ परेकी रामकुमारी झाँक्रीविरुद्ध प्रहरीले देखाएको प्रमाण हाे– उनले गोरखामा सार्वजनिक कार्यक्रममा गरेको सम्बोधन।

नेकपामा आएको विभाजनसँगै दाहाल नेपाल समूहमा सक्रिय रहेकी उनले माघ १६ मा गोरखाको सिरान चोकमा आयोजना भएको कार्यक्रममा सम्बोधनका क्रममा विद्यादेवी भण्डारीलाई ‘बडामहारानी’ भन्दै आलोचना गरेकी थिइन्। 

उनको सम्बोधनको भाषाप्रति तीव्र आलोचना भइरहेको बेला मुलुकी अपराध संहिता २०७४ को दफा ५८ लाई टेकेर महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहीबार पक्राउ गर्यो। अपराध महाशाखाले उनलाई पक्राउ पुर्जी दिँदा उल्लेख गरेको दफा ५८ मा

‘कसैले नेपालको राष्ट्रपति वा सांसदलाई संविधान तथा कानुन बमोजिम गर्नु पर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाब दिन नहुने’ उल्लेख छ। 

यदि यो दफाको उलङ्घन गरेमा सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ ।

के उनले सार्वजनिक कार्यक्रममा गरेको सम्बोधनले यो दफा आकर्षित हुन्छ ? पढ्नुस् उनको सम्बोधनको अंश :

राष्ट्रपतिको कुरा त के गर्नु। बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। म बडामहारानीलाई यहीँ गोरखाबाटै सन्देश दिन चाहन्छु निर्वाचनको तयारीका लागि कार गेट छाडेर, सुख सुविधा, ऐस आराम, शीतल निवास छाडेर पहिला कोटेश्वरमा आउनुस्। चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुनेको थिएँ। हैन भने बालकोटै गए पनि हुन्छ। र, नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो, त्यसको तयारी गरेर सन्देश पठाउनुस्। तपाईँसँग म पनि अलि भारी हुन्छ होला। यही रेखा लोप्चनलाई चुनाव लडाउँछौँ र हराउँछौँ। तपाईँका लागि म पनि भारी हुन सक्छु।

त्यस कारण बडामहारानीले हामीले प्राप्त गरेका, हामीले सङ्घर्ष गरेर ल्याएका अधिकारहरूमाथि गिद्धे दृष्टि लगाएर एउटा गुटको, खास गुटको मान्छेको तुष्ट फेर्नका लागि गरिएका असंवैधानिक कदम किमार्थ पनि स्वीकार्य हुन सक्दैन।

त्यस कारण यो नेकपा एमालेले २०५० सालमा गरेको भुल थियो। यहाँ अन्यथा नहोस्। तमाम दिदीबहिनी हुनुहुन्छ, शहीद परिवार हुनुहुन्छ। यहाँहरूलाई भन्न खोजेको होइन। मदन भण्डारीको हत्या पछाडि सेतो साडी लाएर जुन शक्ति आर्जन गर्ने गलत सांस्कृतिक अभ्यास गरेको थियो, नेकपा एमालेले। त्यसको प्रतिउत्पादन हो, विद्या भण्डारी। 

आज यो संविधानको चीरहरण गर्ने कारण बनेको छ। त्यस कारण संस्कृति पनि सही हुनुपर्ने रहेछ। धरानमा हामीले चुनाव हार्नुको कारण पनि त्यही हो। धरानमा मेयर बिरामी भएर बित्नुभयो। मेयरका श्रीमतीलाई टिकट नदिए बापत भनेर भोट हालेनन्। र, काँग्रेसले जित्यो। सेन्टिमेन्टको, इमोसनल ब्ल्याकमेलिङको राजनीति पनि बन्द गर्नुपर्ने हुन्छ।

राजनीति विचारधाराकै गर्नुपर्दो रहेछ। त्यस कारण जब विचार सिद्धिन्छ। कपाल देखाएर, नाक देखाएर, छाला देखाएर, लुगा देखाएर जब राजनीति गरिन्छ नि, पुग्ने त्यहीँ हो। त्यसबाट आउने चिज पनि त्यही हो। त्यसैले हामीले गलत काम गरेकै कारणले, नारायणकाजी कमरेडलाई पनि थाहा छ, दोस्रो पटक विद्या भण्डारीलाई राष्ट्रपति नबनाऔँ भनेर सचिवालयका नेताहरूलाई, सबैको घरमा देउसी खेल्न गएको हामी। उहाँहरूले कानमा तेल हाल्नुभयो। त्यतिन्जेलसम्म उहाँहरूको विद्या भण्डारीले केही बिगारेको थिएन। हाम्रो पनि त बिगारेको थिएन। अब थाहा पाउनुभयो। त्यस कारण उहाँहरूभन्दा हामी नै दूरदर्शी थियौँ भन्ने त प्रमाणित भयो नि१ सबै नेता कमरेडकोमा गएको हामी। एउटा सेरेमोनियल पदमा मान्छे दोहर्याइँदादोहर्याइँदै किन राख्ने ?

माघ २९, २०७७ बिहीबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।