झाँक्रीलाई रिहा गर्न नेकपा दाहाल-नेपाल समूहको माग

झाँक्रीलाई रिहा गर्न नेकपा  दाहाल-नेपाल समूहको माग

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल-नेपाल समूहले सांसद रामकुमारी झाँक्रीलाई रिहा गर्न माग गरेको छ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति निकालेर गिरफ्तारीले वर्तमान सरकारको अलोकतान्त्रिक, निरङ्कुश र सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको आरोप लगाएको छ। 

‘राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टि भ्रम, पूर्वाग्रह र स्वेच्छाचारिताबाहेक केही होइन’ विज्ञप्तिमा लेखिएको छ। उसले झाँक्रीको गिरफ्तारीले नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको उल्लेख गरेको छ। 

नेकपा केन्द्रीय कमिटीको सदस्य एवं सांसद झाँक्रीलाई प्रहरीले राज्य विरुद्धको कसुर अन्तर्गतको दफा ५८ अनुसार सोधपुछका लागि लगेको जनाएको छ। 

झाँक्रीलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ। महानगरीय अपराध महाशाखाले पक्राउ पुर्जी दिएर झाँक्रीको निवास काठमाडौँ शंखमुलबाट पक्राउ गरेको हो। 

पक्राउ पछि झाँक्रीले ट्विट गरेर आफू अपराध अनुसन्धान मिनभवनमा रहेको जानकारी दिएकी छन्।ट्विटमा झाँक्रीले ‘सबै साथीहरूले धैर्य गर्नुहोला, यो अन्तिम लडाई हो, आफ्नो ठाउँबाट डटौँ’ लेखेकी छन्।

माघ २९, २०७७ बिहीबार १४:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।