राज्य विरुद्धको कसुर आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री झाँक्री पक्राउ

राज्य विरुद्धको कसुर आरोपमा नेकपा दाहाल–नेपाल समूहकी नेत्री झाँक्री पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ परेकी छन्। 

मुलुकी (अपराध) संहिताको दफा ५८ अनुसार राज्य विरूद्धको कसुर गरेको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले झाँक्रीलाई काठमाडौंको शंखमुलस्थित उनकै निवासबाट आज (बिहीबार) पक्राउ गरेको हो। 

महाशाखा प्रमुद दीपक थापाले झाँक्रीविरुद्ध कार्यालयमा परेको उजुरीबारे छलफलका लागि उनलाई बोलाएको दाबी गरे।  

झाँक्रीविरुद्ध परेको उजुरीबारे छलफल गर्न बिहान १० बजे बोलाइए पनि त्यसको दुई घण्टासम्म पनि कार्यालयमा नआएपछि निवासमै गएर पक्राउ गरिएको महाशाखाले जनाएको छ। 

झाँक्री पक्राउ परेपछि उनको घर अगाडी रहेका उनका समर्थकहरूले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारा लगाएका थिए। 

गत माघ १६ गते गोरखामा भएको सभामा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेकी थिइन्। 

संविधानको धारा ५८ मा बल प्रयोग गरी वा नगरी राष्ट्रपति वा संसद्लाई कुनै किसिमको धम्की दिने वा डर त्रास देखाउने वा दबाब दिने सम्बन्धी कसुर भनिएको छ। यो दफा अनुसार कसुर गरेको ठहरिए ७ वर्ष जेल वा ७० हजारसम्म वा दुवै सजाय हुने लेखिएको छ। 

सच्याइएकाे

 

माघ २९, २०७७ बिहीबार १३:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।