विप्लव नेकपा सहितका चार कम्युनिस्ट पार्टी एउटै मोर्चामा
काठमाडौँ : सरकारको प्रतिबन्धमा रहेको नेकपा विप्लव सहितका चार कम्युनिस्ट पार्टीले कम्युनिस्ट आन्दोलनको समीक्षा गर्न कार्यदल घोषणा गर्ने भएका छन्।
प्रतिबन्धित विप्लव नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, रिसी कट्टेलको नेकपा र आहुतिको वैज्ञानिक समाजवादी पार्टी नेपालले कार्यदल घोषणा गर्न लागेका हुन्।
कम्युनिस्ट आन्दोलनको समीक्षा गरेर मुद्दा मिल्नेहरूसँग लामो समयसम्म सहकार्य गर्न संयुक्त रणनीतिक मोर्चा घोषणा गर्न लागेको प्रतिबन्धित विप्लव नेकपाका एक नेताले बताएका छन्।
‘अहिले संयुक्त मोर्चा घोषणा गर्ने र पछि पार्टी एकता नै गर्ने उद्देश्य छ, ती नेताले भने, तत्काल मुद्दा मिल्ने विषयमा सहकार्य मात्रै गर्न लागेका हौँ।’
आज (बिहीबार) दिउँसो साढे १२ बजे प्रज्ञा भवन कमलादीमा मोर्चा घोषणाको औपचारिक कार्यक्रम हुँदै छ। घोषणा कार्यक्रममा प्रतिबन्धित विप्लव नेकपाबाट गुणराज लोहनीलाई प्रतिनिधित्व गर्न भनिएको छ।
विप्लव नेकपा र मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीबिच पार्टी एकताबारे लामो समय छलफल भए पनि टुङ्गोमा नपुगेको ती नेताले बताए।
माघ २९, २०७७ बिहीबार ०९:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।