म्यानमारका सैनिक नेता अमेरिकाको कालो सूचिमा
काठमाडौँ : अमेरिकी राष्ट्रपति जो बाइडनले ‘कु’ गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
यो कदम सैनिक नेताहरू, उनीहरूका परिवारका सदस्य र सेनासँग सम्बद्ध व्यापार व्यवसायप्रति लक्षित हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
म्यानमारमा भएको सैनिक ‘कु’ विरुद्ध प्रदर्शनका क्रममा मङ्गलवार गोली लागेर घाइते भएकी एक महिला राजधानी नेपिद्अस्थित एउटा अस्पतालमा मृत्युसँग सङ्घर्ष गरिरहेका बेला अमेरिकाले प्रतिबन्धको घोषणा गरेको हो।
अमेरिकी राष्ट्रपति बाइडनले सेनालाई आफ्नो कदम फिर्ता लिन र सू ची सहित जन निर्वाचित नेताहरूलाई रिहा गर्न माग गरेका छन्। आवश्यक परेको खण्डमा थप कदम चाल्ने बताउँदै बाइडनले भनेका छन्,‘म्यानमारका जनताले आफ्नो आवाज सुनाउँदै छन् र विश्वले सबै हेरिरहेको छ।’
पहिलो चरणमा प्रतिबन्धको निशानामा पर्नेहरूको पहिचान यसै साता आफ्नो प्रशासनले गर्ने बाइडनले बताएका छन्।
माघ २९, २०७७ बिहीबार ०८:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।