आकाशमा लागेको बादलले पानी पर्दैन : मौसमविद्
काठमाडौँ : देशभरको मौसम आंशिक बदली रहेको छ। पश्चिमी वायुका कारण आज (बिहीबार) दिनभर छिनछिनमा बादल लाग्ने र छिनछिनमा घाम लाग्ने भइरहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पश्चिमी बायुका कारण आकाशमा बादल लागेर घाम छेके पनि किसानले सिँचाई गर्ने गरी पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिमा मानन्धरले बताइन। ‘यस पटक पश्चिमी वायु कमजोर खालको रहेको छ,’ मानन्धरले भनिन्,‘डिसेम्बर, जनवरी र फ्रेवुअरी प्रि मनसुनको महिना सुख्खा रह्यो।’
मौसम हरेक वर्ष एकै नास नहुने भन्दै उनले परिवर्तन भइरहने बताइन। भोलिदेखि देशभरको मौसम बदली हुने अनुमान विभागले गरेको छ। आकाशमा बादल लागेकाले तापक्रम घटेको छैन। आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसोको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको मौसमविद् मानन्धरले बताइन।
विभागका अनुसार तराई तथा पहाडका केही भू भागमा अहिले हुस्सु र कुहिरो लागेको छ। दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ मा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहने विभागले अनुमान गरेको छ।
माघ २९, २०७७ बिहीबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।