किन सार्वजनिक मञ्चमा झोक्किइरहन्छन् नारायणकाजी ?

किन सार्वजनिक मञ्चमा झोक्किइरहन्छन् नारायणकाजी ?

काठमाडौँ  : अघिल्लो पटक प्रर्दशनीमार्गमै नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको कार्यक्रममा सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले माधवकुमार नेपालसँग मञ्चमै झगडा गरे।

नेपालसँगै बसेका उनलाई अन्य नेताहरूले सम्झाउन खोज्दा पनि उनी झोक्किएका झोक्कियै थिए। सम्झाउन आएकालाई उल्टै धकेल्दै पर पढाइरहेको दृश्य सार्वजनिक भएको थियो।

उनी कतिसम्म रिसाएका थिए भने कार्यक्रममा सम्बोधन समेत गरेनन्।

उनी झोक्किनुको कारण विरोध प्रदर्शनमा नगर परिक्रमा गर्ने विषयमा असन्तुष्ट भएको खुलेको थियो।

बुधवार त्यही स्थानमा भएको दोस्रो विरोध कार्यक्रममा पनि श्रेष्ठ उसै गरी झोक्किए मञ्चबाटै। बुधवार उनी झोक्किए सञ्चारकर्मीहरूसँग।

सम्बोधनका लागि माइक अगाडि आएपछि उनले भिडतिर हेर्दै भने‘ एक छिन त्यहाँ पत्रकार साथीहरूले केही नगरी दिनुहोला।’

उनी कड्किन थाले‘ पत्रकार साथीहरू हामी यहाँ सभा सञ्चालन गरिराखेका छौँ। तपाईँहरू त्यहाँ चुप लागिदिनुस्।’

उनी माइक अगाडि नै थिए। तै पनि फेरि चिच्याए‘ सुन्नु भो। ऋषि धमलाजी, ऋषि धमलाजी, तपाई त्यहाँ अर्को कार्यक्रम नगर्नोस्, चुप लाग्नुस्। तपाई चुप लाग्नुस्।’

उनी निक्कै रिसाएका देखिन्थे।

यती गाली गरिसकेपछि उनी माइकतिर फर्किए। प्रदर्शनकारीले होहल्ला गरेपछि हल्ला भएतिर उनले हात हल्लाएर चुप लाग्न लगाए। अनि आफू किन रिसाएको खुलाए।

‘उहाँले राम्रै गर्नुभाथ्यो जनसमुदायको अन्तर्वार्ता। तर अहिले हैन पछि लिन म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु।’

माघ २८, २०७७ बुधबार १९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।