पारिश्रमिक नपाएपछि भेरी–बबई आयोजनाका कर्मचारी १० दिनदेखि हड्तालमा

पारिश्रमिक नपाएपछि भेरी–बबई आयोजनाका कर्मचारी १० दिनदेखि हड्तालमा

सुर्खेत : राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका कर्मचारी पारिश्रमिक नपाएपछि १० दिनदेखि हड्तालमा उत्रिएका छन्। 

आयोजना परामर्शदाता महाव घोड्स इन एसोसियसन विथ (इकोकोड) नेपालमार्फत् काम गर्ने कर्मचारीले एक वर्षदेखिको पारिश्रमिक नपाएको भन्दै हड्ताल गरेका हुन्। 

यसअघि गत असार २२ गते रोजगारदाता र कर्मचारीबीच एक महिनामा बाँकी पारिश्रमिक दिने मौखिक सहमति भए पनि पालना नभएपछि आन्दोलित हुनु परेको इन्जिनियर हर्कबहादुर ऐरले बताए। उनले रोजगारदातासँग बक्यौता पारिश्रमिक दिन ६ पटकसम्म लिखित अनुरोध गर्दासमेत सुनुवाइ नभएपछि हड्ताल गर्न बाध्य भएको बताए।

‘बक्यौता रकम भुक्तान गर्ने सम्झौता गरेको पाँच महिना बित्दासमेत रोजगारदाताले कर्मचारीका समस्याप्रति बेवास्ता गर्दै खेलवाड गरिरहेको छ,’ उनले भने, ‘कानुनी राज्यमा कर्मचारीले आफ्नो श्रम नपाएपछि बाध्य भएर आयोजना कार्यालयको अगाडि अघिल्लो सोमबारदेखि चरणबद्ध हड्ताल सुरु गरेका छौं।’

उनले एकमुष्ट बक्यौता पारिश्रमिक भुक्तान नभएसम्म हड्ताल जारी रहने बताए।  

पारिश्रमिक नपाउने कर्मचारीमा कम्पनीका डेपुटी टिम लिडरदेखि सहयोगी कर्मचारी र चालकसमेत गरी १९ जना छन्। 

आयोजनाले २०७६ असोज ६ गते इरानी कम्पनी महाभोट तथा नेपालको द इन्जिनियरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डिभेलपमेन्ट इफोट्र्स (इकोकोड)सँग सम्झौता गरेको थियो। हाल यी दुवै कम्पनीले साझेदारीमा काम गरिरहेका छन्। 
पारिश्रमिक नपाएर आन्दोलित हुने सबै कर्मचारी नेपाली हुन्। 

रोजगारदाताको आश्वासनले मात्र काम नचल्ने भएकाले बक्यौता पारिश्रमिक नदिएसम्म काममा नफर्किने उनीहरूको भनाइ छ ।

तलब नपाएको भन्दै आन्दोलनरत कर्मचारीले कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुर्खेत, श्रम विभाग, काठमाडौं, भेरी बबई डाइभर्सन आयोजना, राष्ट्रिय मानवअधिकार आयोगलगायतका निकायमा उजुरी दिएका छन्। 

इकोकोड नेपालका महानिर्देशक प्रकाश अधिकारीले इरानस्थित परामर्श कम्पनी एमजिसिई र इकोकोडको संयुक्त योजना भएकाले पारिश्रमिक दिन समस्या भएको जनाए। 

इरानस्थित परामर्श कम्पनीले मात्रै नेपाल सरकारबाट रकम लिएर दिन मिल्न बताउँदै उनले ‘इरानी क्लाइन्ट’ नेपाल आएपछि मात्रै पारिश्रमिक दिन सकिने बताए।

माघ २८, २०७७ बुधबार १९:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।