ड्रोन देखेपछि पुष्पकमल मुस्कुराए
काठमाडौँ : संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम विरुद्ध शक्ति प्रदर्शन गर्न आयोजित कार्यक्रममा मञ्चमा रहेका नेताहरूतिर जब ड्रोन उड्दै आइपुग्यो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल मक्ख परे।
सोफाको आलोचनापछि नेताहरू बस्न मञ्चमा कुर्सी राखिएको थियो। उनी नेकपाका नेता झलनाथ खनाल र माधव नेपालको बिचमा थिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न आयोजकले कार्यक्रम स्थलमा ड्रोन उडाएका थिए।
.jpg)
मञ्चमा रहेका नेताहरूको दृश्य कैद गर्न मञ्चमाथि ड्रोन क्यामरा देखेपछि उनले झलनाथ खनाल र माधव नेपाललाई माथितिर देखाए अनि मुस्कुराउँदै हात हल्लाएर अभिवादन गरे। झलनाथले पनि उस्तै शैलीमा हात हल्लाए। माधव नेपालले अलि पछि हात हल्लाएर लाइभ हेरिरहेकालाई अभिवादन गरेका थिए।

तर केही समयमै ड्रोन प्रदर्शनकारी भएको भिडमा खस्यो। अनि कार्यक्रम सञ्चालन गरिरहेकाले कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न उडाएको ड्रोन कतै खसेकाले पाउनुहुनेले बुझाइदिनुहोला भनेर अनुरोध गरेका थिए।
माघ २८, २०७७ बुधबार १६:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।