माधव नेपालले भने: ‘पशुपतिनाथले भन्लान् केपी ओली धिक्कार छ’

माधव नेपालले भने: ‘पशुपतिनाथले भन्लान् केपी ओली धिक्कार छ’

काठमाडौँ : नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले जनसमुदायको भावनालाई बुझ्न नसकेको बताए। उनले अब मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथको मन्त्र जप्न सुझाव दिए।

नेपालले पशुपतिनाथको मन्त्र जप्दा पनि माया भने नपाउने दाबी गरे। ‘केपी ओलीजी तपाई मदन भण्डारीको नाम बिर्सिसक्नुभयो, अब पशुपतिनाथको मन्त्र जप्नु। पशुपतिनाथले जो असल जो राम्रो प्रवृत्तिको छ। पाप गर्नेलाई पशुपतिनाथले पनि माया गर्दैनन्। चेतना भया।’

उनले संविधान मिच्ने, लोकतन्त्रको हत्याराहरूलाई पशुपतिनाथले माया नगर्ने बताए।

बढ्दो महिला हिंसाको उदाहरण दिँदै उनले भने ‘ ओलीको शासनकालमा सात हजार एक सय ७० नेपाली चेली बलात्कृत भएका छन्। उनीहरूको आत्माले भनिरहेको होला।, ए ओली तिमिले कति जनालाई सजाय दिएका छौँ, कति जना अपराधीलाई जेलमा कोचेका छौँ। यत्रो जिल्ला जिल्लामा घटिरहेको बलात्कारको घटनामा तिम्रो संवेदनशीलता देखेर लाज लागेको छ।’

उनले अगाडि भने‘जुन पार्टीले तिमिलाई प्रधानमन्त्री बनायो अहिले त्यही पार्टी सिद्ध्याउन लाग्यौँ, धिक्कार छ। पशुपतिनाथले पनि त्यही भन्लान् केपी ओलीलाई धिक्कार छ।

उनले प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याउने काम गरिरहेको दाबी गरे। बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्दै उनले भृकुटीमण्डपमा आयोजित सभामा भने‘हाम्रो पक्षमा कति छन् ? ४ सय ४१, अनि ओलीको पक्षमा ? सय ।

 

माघ २८, २०७७ बुधबार १६:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।