झाँक्रीको आरोप- राष्ट्रपति सन्की प्रधानमन्त्रीको प्यादा
काठमाडौँ : नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी अहङ्कारी सन्की प्रधानमन्त्रीको प्यादा बनेको आरोप लगाएकी छन्।
नेकपा दाहाल नेपाल समूहले काठमाडौँमा गरेको विरोध सभामा नेतृ झाँक्रीले राष्ट्रपति संस्थाको विरुद्ध नभएर निरंकुशताको साक्षी बस्ने भण्डारीको विरुद्ध बोल्ने बताइन।
‘राष्ट्रपति पदको कुनै लिङ्ग हुँदैन।, १८ वर्षसम्म अनेमसंघलाई प्राइभेट कम्पनी बनाउने एउटा खलपात्रको विरुद्ध बोल्दा महिलाको अस्मिता मिचिँदैन।’ उनले भागरथी, निर्मला पन्तको बलात्कारपछि हत्या गरेर अस्मिता मिचिएको बताइन।
मुखमा कालो टेप लगाएर मञ्चमा पुगेकी झाँक्रीले ओलीलाई कागजी बादशाहको संज्ञा दिइन। उनले यो ओलीको अधोगति भएको बताइन। उनले सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध भइरहेको बहस सुन्दा संसद् पुनर्स्थापना हुने दाबी गरिन्।
तर, प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्नेहरूले भने जस्तै संसद् पुनर्स्थापना नभए प्रधानमन्त्रीसँग अचम्मको अधिकार मात्रै हुने बताइन। ‘संविधान सम्मत हुँदैन।’ झाँक्रीले भनिन्, ‘ओलीका वकिलले भनेजस्तो प्रधानमन्त्रीसँग अचम्मको अधिकार मात्रै हुनेछ।’
यस्तै नेकपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष भानुभक्त जोशीले कालापानी, लिपुलेक र लिम्पियाधुराको माटो लगाएर प्रतिगमन परास्त गर्ने बताए। विरोध सभामा जोशीले सुदूरपश्चिमका जनता प्रतिगमनको विरोधमा रहेको भन्दै खुट्टा नकमाउन नेतृत्वलाई आग्रह गरे।
नेकपाका केन्द्रीय सदस्य महम्वत मेहवुव अन्सारीले ओलीको जङ्गली शासन विरुद्धको आन्दोलन भनेर सम्बोधन गरे। उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेसम्म आन्दोलन नरोकिने बताए। ‘अदालत पनि सेटिङमा नपरोस् उनले भने, ‘सेटिङ मुर्दावाद।’
माघ २८, २०७७ बुधबार १४:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।