नायिका वर्षाको प्रश्न ‘र्‍यालीमा आएकाजतिले न्याय मागिदिए फेरी अर्की बलात्कृत हुन्न थिएनन् कि?

नायिका वर्षाको प्रश्न ‘र्‍यालीमा आएकाजतिले न्याय मागिदिए फेरी अर्की बलात्कृत हुन्न थिएनन् कि?

काठमाडौँ : राजनीतिक दल र सरकारमा रहेकाले नै आफ्नो कुर्सीका लागि आन्दोलन गरिरहेका छन्। सत्ता र शक्तिका लागि संविधान विपरीतको काम गरिरहेका छन्। 

संविधान कार्यान्वयन गर्नुपर्ने सरकार आफैले उल्लङ्घन गरेको भनेर आन्दोलन भइरहेको छ। पुस ५ गतेपछि सडकमा निरन्तर प्रदर्शन र जुलुस भइरहेका छन्। तेस्रो चरणको आन्दोलन अन्तर्गत सत्तारुढ दलकै असन्तुष्ट पुष्पकमल दाहाल र माधव नेपाल समूहले बुधवार दिउँसो १ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना गरेका छन्। 

सरकार मै रहेको दलका दुई समूह आफू आफैमा लडाई झगडा गरिरहेका छन्। जनता बटुलेर संख्या धेरै देखाउने प्रतिस्पर्धामा प्रधानमन्त्री केपी शर्मा ओली र दाहाल नेपाल समूह दुवै नेकपाको आधिकारिक पार्टी भएको दाबी गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि राजनीति धुव्रिकृत भएको छ। राजनीतिक मात्रै नभएर समाजका विकृति, विसङ्गति रोकिएका छैनन्।  निर्मला पन्तको बलात्कारी पत्ता नलाग्दै स्कुलबाट घर हिँडेकी भागरथी भट्टको बलात्कारपछि घाटी थिचेर हत्या भएको छ। 

अपराधीलाई पक्राउ परेका छैनन्। बलात्कारमा संलग्नलाई कारबाही गर्न राजनीतिक दल, नागरिक समाज, कलाकारले सरकारलाई भनिरहेका छन्। 

यी सबै दृष्य देखेर अभिनेत्री वर्षा सिवाकोटीलाई झोक चलेछ। उनले बलात्कारीलाई कानुनी कठघरामा उभ्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलको आलोचना गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखिन् 'राजनीतिक दलले व्यक्तिगत स्वार्थका लागि मात्रै आन्दोलन गरिरहेका छन्।' 

‘नारीलाई भगवान् मानेर पुज्ने मेरो देशमा आज नारी स्वयं सुरक्षित छैनन्। निर्मला र सम्झनाजस्तै भागरथीले पनि न्याय पाउँदिनन् त?’ सामाजिक सञ्जाल फेसबुकमा उनले प्रश्न गरेकी छन्, ‘के यति असक्षम छ हाम्रो न्यायपालिका? के यति कमजोर छ हाम्रो राज्य व्यवस्था? एउटा अपराधीको पहिचान गरी, सजाय दिन नसक्ने ? के गरिवका लागि न्याय त्यति महँगो भइसक्यो?’

‘तिम्रो र्यालीमा आएका जति मानिसले मेरा बहिनीहरूको लागि न्याय मागिदिए फेरी अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि? उनले लेखिन्’

उनले तिम्रो आन्दोलनको नारा यदि बलात्कार र बलात्कारीको विरुद्धमा लाग्ने गरेको भए, सायद मेरी बहिनीको बलात्कारीले सजाय पाउँथ्यो कि? भनेर लेखेकी छन्। सरकार बलात्कारीलाई पक्राउ गर्न नसकेर अपराधीको मनोबल बढाइरहेको वर्षाको आरोप छ।

माघ २८, २०७७ बुधबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।