नेकपाको दाहाल -नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै
काठमाडौँ : नेकपाको पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहले आज (बुधवार) काठमाडौँमा शक्ति प्रदर्शन गर्दै छ। नेकपा दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन अन्तरगत आज काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको हो।
प्रतिनिधिसभा विघटन गर्ने निर्णयसँगै नेकपा ओली र दाहाल-नेपाल समूहमा विभाजित भएको छ। दुवै समूहले छुट्टाछुट्टै राजनीतिक कार्यक्रम गरेर एक अर्का विरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन्।
ओली समूहले माघ २३ नारायणहिटी दरबार अगाडि आमसभा गरेको थियो। नेकपाले आज बिहान ११ बजेपछि पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल र जमलबाट जुलुस निकालिने जनाएको छ।
पुलचोकबाट कृष्णबहादुर महरा, रघुजी पन्त, पम्फा भुसाल, प्रमेश हमालले जुलुसको नेतृत्व गर्नेछन्। यस्तै त्रिपुरेश्वरबाट अष्टलक्ष्मी शाक्य, जनार्दन शर्मा, वर्षमान पुन, घनश्याम भुसाल लगायतले जुलुसको नेतृत्व गर्ने नेकपा दाहाल-नेपाल समूहले जनाएको छ।
११ बजे जम्मा हुने र १२ बजे जुलुस निस्केर सभा हुने स्थान भृकुटीमण्डप पुग्ने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। आजको प्रदर्शनमा बाग्मती प्रदेशसँगै प्रदेश २ बाट धेरै नेता कार्यकर्ता सभामा सहभागी हुने शाहले बताए।
माघ २८, २०७७ बुधबार ०८:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।