देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही पहाडी भू भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिए। 

काठमाडौँमा बिहान ११ बजेपछि बादल लागेर आंशिक बदली हुने सम्भावना रहेको छ। बेलुकी ७ बजेपछि बादल हटेर मौसममा क्रमिक सुधार आउने अनुमान गरिएको मौसमविद् सापकोटाले बताए।  

काठमाडौँ उपत्यकामा बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसोको तापक्रम अधिकतम २१ देखि २३ डिग्री सेल्सियस पुग्ने अनुमान विभागले गरेको छ। 

अहिले सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बाग्मती प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। बाँकी स्थानहरूमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ। 

आज राती बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने अनुमान विभागले गरेको छ। विभागका अनुसार बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

माघ २८, २०७७ बुधबार ०७:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।