कांग्रेस नेता खाँणको आरोप– प्रधानमन्त्री बनेदेखि नै ओलीले संविधान प्रतिकूल काम गर्नुभयो
भैरहवा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खाँणले केपी शर्मा ओलीले प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकूलको काम गर्न थालेको आरोप लगाएका छन्।
लुम्बिनी प्रेस क्लब, रूपन्देहीले आज (मंगलबार) भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले यस्तो बताएका हुन्।
उनले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानुन बनाउन ओली लागेको आरोप लगाए। साथै मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षाको मुद्दालाई कमजोर बनाउन ओलीले विधेयक ल्याएको उनको दाबी छ।
‘संविधानको प्रतिकूलमा ओलीले थुप्रै विधेयक ल्याउनुभयो, सेनालाई एक्लै चलाउने खालको विधेयक ल्याउनुभयो, पछिल्लो पटक त झनै संविधानविपरीत राष्ट्रिय सुरक्षा परिषदको अध्यादेश ल्याउनुभयो,’ उनले भने, ‘तर, दबाब आएपछि विधेयक फिर्ता लिनुभयो।’
नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध देशव्यापी प्रदर्शन गरेको बताउँदै उनले आगामी फागुन ३ गते ७७ वटै जिल्लामै विरोध कार्यक्रम गरिने बताए।
सरकारले गरेको निर्णयलाई सच्याउनुपर्ने कांग्रेसको धारणा रहेको उनको भनाइ छ ।
‘संसद् विघटन मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधान अनुसार नै उचित निर्णय गर्नेमा हामीले आशा र भरोशा गरेका छौं। न्यायपालिका एउटा स्वतन्त्र र विवेकशील, संविधानसम्मत गठित न्यायपालिका हो, न्यायपालिकाले कतिपय सन्दर्भमा संविधानको व्याख्या गर्छ,’ उनले भने।
कांग्रेस निर्वाचनलाई अवसरका रूपमा लिने भन्दा पनि संविधानको रक्षा कसरी गर्ने भन्नेमा चिन्तित रहेको उनले बताए।
पूर्वरक्षामन्त्रीसमेत रहेका खाँणले संविधानले कुनै अधिनायकवाद, सर्वसत्तावाद र निरंकुशतालाई प्रश्रय दिन नसक्ने बताए। संविधानलाई रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको उनको भनाइ छ।
संसद् विघटनपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटमार्फत् यो कदमलाई असंवैधानिक तथा अलोकतान्त्रिक भनिसकेकाले यही नै कांग्रेसको साझा धारणा भएको उनले बताए।
माघ २७, २०७७ मंगलबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।