निर्वाचन आयोगको अपडेट लिएर फर्के प्रधानमन्त्री 

निर्वाचन आयोगको अपडेट लिएर फर्के प्रधानमन्त्री 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा विवादका सन्दर्भमा निर्वाचन आयोगले निम्ताए जसरी प्रचार भए पनि प्रधानमन्त्रीको हैसियतमा पुगेर निर्वाचन आयोग तयारीका बारेमा जानकारी लिएर फर्किएका छन्।

साथै प्रधानमन्त्री ओलीले घोषित मितिमा चुनावको तयारीमा जुट्न र स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । 

उनले निर्वाचन आयोगको काम कारबाहीलाई कुनै अफवाहका पछाडि नलागी निरन्तर रूपमा अगाडि बढ्न निर्देशन समेत दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले आयोगको अहिलेसम्मको काम कारबाही र तयारी बारे जानकारी लिएको थापाले जानकारी गराए। 

ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेलाई निर्वाचनको मिति तोकेका छन् । त्यही सन्दर्भलाई लिएर ओली आयोगको तयारी बुझ्न आयोगमा आएको थापाले बताए।

साथै ओलीले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग पनि निर्वाचनका बारेमा छलफल गरेको पनि उनले जानकारी गराए। 

प्रधानमन्त्री ओलीले आयोगको तयारी सन्तोषजनक रहेको प्रतिक्रिया दिएको थापाले बताए। थापाका अनुसार आफ्नो जिम्मेवारीलाई पूरा गर्न निरन्तर रूपमा अगाडि बढ्न ओलीले निर्देशन दिए। 

‘नेकपाको आधिकारिकताका सन्दर्भमा भएको विवाद बारेमा प्रधानमन्त्री बुझ्न आउनु भएको हो?’ भन्ने संचारकर्मीको जिज्ञासामा सल्लाहकार थापाले कुनै विवाद नरहेको र आफूहरू नै आधिकारिक रहेको जसरी प्रस्तुत भए। नेकपाको विवाद सम्बन्धमा माघ ११ गते आयोगले निर्णय दिइसकेको उनले बताए। 

माघ २७, २०७७ मंगलबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।