सरकारले दुई चरणमा चुनाव हुने जिल्ला तोक्यो
काठमाडौँ : सरकारले वैशाख १७ गते पहिलो चरणमा प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ। दोस्रो चरणमा वैशाख २७ गते प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशका जिल्लामा चुनाव गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेको सरकारले पहिलो र दोस्रो चरणमा चुनाव हुने जिल्ला तोकेको सञ्चार सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए। उनले मन्त्रीपरिषद्ले गरेका निर्णय आज (मङ्गलवार) दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए।
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ। विघटनको निर्णय विरुद्ध नेकपाको दाहाल नेपाल समूह, प्रतिपक्षी नेपाली काँग्रेस, जसपा लगायतका दल, नागरिक समाजले आन्दोलन गरिरहेका छन्।
तर, सरकारले भने पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ।
यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्ने निर्णय गरेको छ।
सरकारले ल्होछार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। तामाङ, ह्योल्मो लगायत हिमाली समुदायले माघ ३० गते मनाउन लागेको ल्होछार पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।
माघ २७, २०७७ मंगलबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।