बालाजुको गुट्खा उद्योगमा आगलागी, डेढ करोड भन्दा धेरै क्षति
काठमाडौँ : काठमाडौँको बालाजु फुटुङमा रहेको शिवशक्ती प्रडक्ट नेपाल प्रालिमा आगलागी भएको छ। राती २ बजेदेखि लागेको आगो अहिले पनि निभाउन सकिएको छैन।
पवन अग्रवालले सञ्चालन गरेको गुट्खा उद्योगमा लागेको आगो निभाउन ७ वटा दमकल प्रयोग भएको प्रहरीले जनाएको छ। तयारी समान र कच्चा पदार्थ आगोले जलेर नष्ट भएको छ।
उद्योगका मेशिनमा भने क्षति नपुगेको महानगरीय प्रहरी प्रभाग बालाजुका डिएसपी निर्मल बुढाथोकीले जानकारी दिए। आगलागीबाट डेढ करोड बराबरको नोक्सान भएको अनुमान गरिएको छ।
उद्योग सञ्चालक अग्रवालले भने आगलागीबाट झन्डै ७ देखि ८ करोड रुपैयाँ बराबरको नोक्सान भएको बताएका छन्। यो उद्योगले २०५८ सालदेखि गुट्खा उत्पादन सुरु गरेको थियो।
उद्योगमा लागेको आगो पुरै निभाउन नसकिएको र अहिले पनि धुवाँ आइरहेको डिएसपी बुढाथोकीले जानकारी दिए।
माघ २७, २०७७ मंगलबार ०९:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।