प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै 

प्रधानमन्त्री ओली निर्वाचन आयोग  जाँदै 

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओली आज (मङ्गलवार) निर्वाचन आयोग जादैछन्। बिहान ११ बजे प्रधानमन्त्री ओली आयोग आउने जानकारी प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कर्मचारीहरूलाई गराएका छन्। 

‘हिजो साँझ प्रमुख आयुक्त ज्यूले भोलि प्रधानमन्त्री आउँदै हुनुहुन्छ भनेर जानकारी दिनु भएको छ।’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘छलफलको विषय चुनावको तयारीबारे हुनसक्छ।’

निर्वाचन तयारी र नेकपा विवादका विषयमा प्रधानमन्त्री ओलीले आयोगमा पुगेर छलफल गर्ने तयारी गरेका हुन्। सरकारले घोषणा गरेको निर्वाचनको तयारीसँगै नेकपा विवादको विषयमा पनि आयोगले छलफल गरिरहेको छ। 

आयोगले नेकपा विवाद र चुनावको तयारीका विषयमा छलफल गर्न माघ १६ गते नेकपाका दुवै पक्षलाई बोलाए पनि प्रधानमन्त्री ओली आयोगमा गएका थिएनन्। नेकपा दाहाल नेपाल समूहले भने आयोगमा गएर आफूहरू नै नेकपाको आधिकारिक दल भएको दाबी गरेका छन्। 

आयोगले दुवै पक्षका शीर्ष नेतालाई बोलाएकोमा आ आफ्ना प्रतिनिधि पठाएका थिए। आयोगले दुवै पक्षलाई सँगै राखेर गर्ने भनेको छलफल हुन सकेको छैन। 

पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाखमा चुनावको मिति घोषणा गरे पनि नेकपा दुई समूहमा विभाजित भएको छ। तर, यसलाई निर्वाचन आयोगले विभाजन भएको मानेको छैन। 

प्रधानमन्त्री ओलीले आयोगमा पुगेर आज आफू नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गर्ने स्रोतले बताएको छ। 

माघ २७, २०७७ मंगलबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।