प्रहरी हेडक्वार्टरका सई नै ब्राउन सुगर 'कारोबारी' !
काठमाडौँ : प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) पवन श्रेष्ठ ब्राउन सुगर कारोबारीको आरोपमा पक्राउ परेका छन्।प्रहरीकै लागु औषध नियन्त्रण ब्युरोले उनलाई पक्राउ गरेको हो। श्रेष्ठ प्रहरी प्रधान कार्यालयको सुरक्षा महाशाखामा कार्यरत थिए।
ब्युरोले केही दिन अगाडि आधा ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको थियो। उनले बयानमा सई श्रेष्ठलाई पोलेपछि उनी आइतबार पक्राउ परेका हुन।
ब्युरो स्रोतका अनुसार पक्राउ परेका युवाले सो ब्राउन सुगर सई श्रेष्ठले आफूलाई दिएको दाबी गरेका थिए। बहालवाला प्रहरी नै लागु औषधको कारोबारमा पोलिएपछि ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो।
ब्युरोको अनुसन्धानमा ती युवाको दाबी सत्य देखिएपछि उनलाई समेत पक्राउ गरेर लागु औषध कारोबारीको अभियोगमा अदालतबाट म्याद लिएर हिरासतमा राखेको छ।
गत असारमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाही लागु औषध कारोबारको आरोपमा पक्राउ परेका थिए। ब्युरोले पुरानो सिनामंगलस्थित पेप्सीकोलामा रहेको सन्तोषकुमार शाहको कोठाबाट लागु औषध कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको थियो।
एलिसन बस्नेत, सन्तोषकुमार शाह, भुपेश शेरचन र अभिनास थपलियासँगको बयानमा उनको नाम पोलियो।
अनुसन्धानमा उनी कारोबारीसँगै आफू पनि सेवनकर्ता रहेको खुलेपछि ब्युरोले मुद्दा चलाएको थियो। अहिले उनी पुर्पक्षका लागि थुनामा छन् ।
माघ २६, २०७७ सोमबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।