पहिलो चरणमा १ लाख ८४ हजारले लगाए कोरोना खोप
काठमाडौं : कोरोना भाइरस (कोभिड–१९) खोप अभियानअन्तर्गत पहिलो चरणमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अभियानको पहिलो चरणमा देशभरका २ सय १ खोप केन्द्रबाट एक लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन्।
तीमध्ये प्रदेशगत आधारमा सबैभन्दा बढी बाग्मती प्रदेशमा ६३ हजार ३ सय ८ र सबैभन्दा कम कर्णाली प्रदेशमा ९ हजार ४ सय २० जना रहेकाे मन्त्रालयले जनाएको छ।
यस्तै, प्रदेश १ मा २४ हजार २ सय २४, प्रदेश २ मा २५ हजार ६ सय ३७, गण्डकी प्रदेशमा १८ हजार ४ सय ७२, लुम्बिनी प्रदेशमा २८ हजार ९ सय ४१ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८ सय ५५ जनाले खोप लगाएका छन्।
ती सबैलाई भारतले अनुदानमा दिएको ‘कोभिसिल्ड’ नामक कोरोना खोप लगाइएको मन्त्रालयले जनाएको छ।
यही माघ १४ गतेदेखि सञ्चालन भएको अभियानअन्तर्गत पहिलो चरणमा सरसफाइकर्मी, स्वास्थ्यकर्मीलगायतलाई खोप लगाइएको थियो। अभियानको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको र कुनै अवाञ्छित घटना नभएको मन्त्रालयले जनाएको छ।
भारत सरकारले नेपाललाई १० लाख डोज ‘कोभिसिल्ड’ खोप अनुदानमा उपलब्ध गराएको थियो।
पहिलो चरणको अभियान सकिएपछि अब दोस्रो चरणमा पत्रकार र कूटनियोगका कर्मचारीलाई खोप लगाइने मन्त्रालयले जनाएको छ।
माघ २५, २०७७ आइतबार १९:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।