बढुवामा छुट्दा एसपीबाट राजीनामा दिएका उप्रेती कांग्रेस प्रवेश
काठमाडौँ : बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिएका नेपाल प्रहरीका पूर्व एसपी नरेन्द्र उप्रेती नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। २०७५ मा एसपीबाट एसएसपीमा भएको बढुवामा छुटेपछि उनले राजीनामा दिएका थिए। राजीनामा दिँदा उनी महानगरीय प्रहरी अपराध महाशाखामा थिए।
उनलाई मोरङ सुन्दरहरौंचामा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी प्रवेश गराएका हुन्।
२०५१ मा प्रहरी निरीक्षकको रूपमा प्रहरी सङ्गठनमा प्रवेश गरेका उनले २४ वर्ष काम गरे। २०७५ माघमा बसेको बढुवा सिफारिस समितिले १४ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गर्दा उनी छुटेका थिए। आफूभन्दा जुनियरलाई सिफारिस गरेको तर आफूलाई नियतवश छुटाएको भन्दै उनले माघ २७ गते राजीनामा दिएका थिए।
उप्रेतीसँगै राप्रपाका पूर्व केन्द्रीय सदस्य कृष्ण भट्टराई, पूर्व सह–सचिव प्रेमप्रकाश उप्रेती सहित २ सय ३३ जना काँग्रेसमा प्रवेश गरेका थिए।
माघ २५, २०७७ आइतबार १७:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।