कोरोना संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु
लण्डन : कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य (युके)मा २ र अल्जेरियामा १ जनाको संक्रमणका कारण मृत्यु भएको हो। योसहित २१ देशमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ।
संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५६ हजार २ सय ४७ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।
समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ। यस्तै, कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने २ लाख ६६ हजार ८ सय १२ जना अर्थात् ९८.५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन्।
माघ २५, २०७७ आइतबार १६:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।