हिमपातपछि निभ्यो मनाङको जंगलमा लागेको आगो 

हिमपातपछि निभ्यो मनाङको जंगलमा लागेको आगो 
मनाङको जंगलमा भएको आगलागी। फाइल तस्बिर।

प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णु लामिछानेले हिमपातसँगै पानी परेपछि आज (शुक्रबार) दुई महिनादेखि जंगलमा लागेको आगो निभेको जानकारी दिए। 

उनका अनुसार आज बिहान साढे ८ बजेबाट हिमपात भएको र दुई फिटसम्म हिउँ परेको छ। 

‘टाकुरा–टाकुरामा आगलागी भएकाले निभाउन नसकिने अवस्था थियो। हिमपातपछि आगो निभ्यो। अब ढुक्क भइयो,’ उनले खुसी प्रकट गरे। 

आगलागी भएको क्षेत्र दुई हजार मिटरभन्दा माथिको उचाईमा पर्छ। 

मनाङमा गत मंसिर ११ बाट आगलागी भएको थियो। चामे गाउँपालिका–२ बाट सुरु भएको आगलागी नासो गाउँपालिका–८, ताचै गाउँको मानव बस्तीसम्म फैलिएको थियो। 

उक्त आगलागी नियन्त्रणमा नआउँदै यही माघ १३ बाट नासो गाउँपालिकाको दुधखोलामा पनि आगलागी भएको थियो। 

आगलागीबाट मनाङमा एक हजार पाँच सय हेक्टरभन्दा बढी जंगल सखाप भएको छ। उक्त जंगलमा थार, घोरल, कस्तुरी, मृग, हिउँ चितुवालगायत वन्यजन्तु र  पाँचऔंले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बा लगायतका जडीबुटी पाइन्छन्। 

माघ २३, २०७७ शुक्रबार १९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।