संसद् विघटनको बचाउमा महान्यायाधिवक्ताकै शैलीमा प्रधानमन्त्रीको तर्क
काठमाडौँको दरबारमार्गमा आयोजित शक्ति प्रदर्शन सभामा उनले गरेका तर्क र इजलासमा उनको पक्षधर महान्यायाधिवक्ता लगायतकाले गरेको तर्क उस्तै थियो।
इजलासमा संसद् विघटन संवैधानिक भनेर बहस गरिरहेकाहरूले सरकारले काम गर्न नसकेमा, प्रधानमन्त्रीले काम गर्न नपाएमा ताजा जनादेशमा जान संसद् विघटन गर्न सक्ने विशेषाधिकार रहेको तर्क गर्दै आएका छन्।
सभामा ओलीले उस्तै शैलीमा भने ‘संसदीय प्रणालीमा काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद् विघटन गर्छ।’
उनले संसद् विघटन सिफारिसबारे अनेक बहस भइरहे पनि यसबारे सर्वसाधारण जनताले बुझेको दावी गरे। उनले पनि बेलायतकै उदाहरण लिए। उनको पक्षबाट बहस गर्नेहरूले पनि नेपालको संविधान २०७२ को प्रावधान भन्दा पनि अन्य देशको प्रावधानहरू उल्लेख गरेर संसद् विघटनको बचाउको प्रयास गरिरहेका छन्।
सभामा प्रधानमन्त्री ओलीले भने‘ बेलायतमा लिखित संविधान छैन। तर अस्ति भर्खर संसद् विघटन गराएर चुनाव गराए। काम गर्न दिएन भने प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ।’
उनले पुष्पकमल दाहालप्रति लक्षित गर्दै‘ हाम्रो बलमा संसद्मा आएर हामीलाई नै काम गर्न नदिने भन्दै उनले भने‘ काम गर्न नदिने अनि सरकारले काम गरेन भनेर आलोचना गर्ने ?’
उनले अब यसको समस्या समाधान चुनावबाट खोज्नुपर्ने भन्दै युवाहरूलाई आग्रह गरे ‘ नाटकबाजहरुको छली कुरामा परेर देशलाई गलत बाटोमा जान दिनुहुँदैन।’
माघ २३, २०७७ शुक्रबार १५:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।