नेकपा हड्ताल: जनपुरबाहेक अन्त शान्तिपूर्ण, १ सय ८८ नियन्त्रणमा, ६ घाइते
काठमाडौँमा कलङ्कीमा बिहानै ट्याक्सी जलाइएको थियो। धनुषा जिल्लाको जनकपुरमा नेकपाका नेता र प्रहरीबिच झडप हुँदा ६ राउन्ड हवाई फायर भएको थियो।

झडपमा नेकपाका स्थायी कमिटी सदस्य मातृका यादव र केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा लगायतका घाइते भएका थिए। प्रहरीतर्फ २ जना घाइते भएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त बहादुर कुँवरले उकेरालाई जानकारी दिए। प्रवक्ता कुँवरले भने,‘२ जना प्रहरी सामान्य घाइते छन्।’
उनका अनुसार डडेलधुरामा पनि १ जना प्रहरी घाइते भए। धनुषाबाहेक अन्यत्रको बन्द शान्तिपूर्ण नै देखियो।

हड्तालकाक्रममा प्रहरीले शान्ति सुरक्षा भङ्ग गरेको आरोपमा १ सय ८८ जना नेकपाका नेता–कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो। काठमाडौँ उपत्यकामा ८६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, विजय पौडेल, अमृता थापा, कृष्ण केसीलगायतकालाई नियन्त्रणमा लिएको प्रहरीले साँझ परेसँगै रिहा गर्न थालेको थियो।

बन्द समर्थकले ३३ वटा गाडी तोडफोड गरेको प्रहरीको तथ्याङ्क छ। क्षति भएका मध्ये ३ वटा सरकारी गडी हुन्, भने एउटा ट्याक्सीमा आगजनी भएको छ।
हडतालमा उत्रिएका नेकपाका नेता कार्यकर्ताले ठाउँ ठाउँमा टायर बाल्नुकासाथै सडक अवरुद्ध गरेका थिए।
हडताल सफल भो : दाहाल–नेपाल
नेकपा दाहाल–नेपाल समूहले बिहीबार बेलुका प्रेस विज्ञप्ति जारी गर्दै हडताल पूर्ण रूपमा सफल भएको दाबी गरेको थियो।
उसले शान्तिपूर्ण आम हडताललाई बदनाम गर्न, असफल पार्न तथा नियोजित रूपमा मुठभेट निम्त्याउन सरकारले गरेको हरकत असफल पारेको दाबी समेत गरेको छ। सरकारले दमनकारी, निरङ्कुश र कायर हरकत गरेको भन्दै नेकपाले त्यसको भर्त्सना गरेको छ।
नेकपाका शीर्ष नेताहरूले विभिन्न ठाउँमा पुगेर हडतालको अगुवाइ गरेका थिए। शीर्ष नेताहरू काठमाडौँ उपत्यकामा नै केन्द्रित रहेर हडताल गरे। नेकपाका नेता पुष्पकमल दाहाल, माधव नेपाल, नारायणकाजी लगायतका नेताहरुले राजधानीका विभिन्न ठाउँमा हडतालको नेतृत्व गरे। तर हडतालमा झलनाथ खनाल भने देखिएनन्।
माघ २२, २०७७ बिहीबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।