आमहड्तालले कर्णाली प्रदेश पूर्णरूपमा ठप्प

आमहड्तालले कर्णाली प्रदेश पूर्णरूपमा ठप्प

कर्णालीमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्। अत्यावश्यकबाहेक सवारीसाधन पूर्णरूपमा ठप्प रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

‘जिल्ला सदरमुकामहरूका मुख्य बजारहरू बन्द छन्। कुनै पनि जिल्लामा गाडीहरू चलेका छैनन्,’ प्रदेश प्रहरी कार्यालयका सहप्रवत्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) माधव श्रेष्ठले भने, ‘आमहडतालले कर्णाली ठप्पै भएको छ।’ 

बन्दकर्ताहरू बजारका चोक–चोकमा जम्मा भएर सवारी आवागमनलाई ठप्प पारेका छन्। हड्ताल सफल बनाउन भन्दै पूर्वसांसद्, नेता र कार्यकर्ताहरू बिहानैदेखि सडकमा जम्मा भएका छन्। चोकमा जम्मा भएका नेताहरू शान्त देखिए पनि कार्यकर्ता भने उग्र देखिएका छन्। 

यस्तै, बन्दकर्ताहरूले बन्दमा मोटरसाइकल चलाएको भन्दै सुर्खेतको बुलबुले चोकमा एक व्यक्तिलाई कुटपिटसमेत गरेका छन्। कुटपिटबाट दैलेखका जोरासिंह विष्ट घाइते भएका छन्। कुटपिटमा संलग्नको पहिचान हुन सकेको छैन।

बन्दकर्ताले अत्यावश्यक सवारीसाधनलाई पनि चल्न दिएका छैनन्। यस्तै, बन्दकर्ताले सुर्खेत बजार क्षेत्रमा टायर जलाएका छन्। 

कर्णालीका सबै जिल्ला सदरमुकामका बजार क्षेत्र पूर्णरूपमा बन्द रहेको जिल्लास्थित प्रहरी कार्यालयहरूले जनाएका छन्। 

सरकारले संवैधानिक परिषद्का रिक्त पदाधिकारी नियुक्त गरेपछि नेकपा दाहाल–नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको हो। यसअघि पनि दाहाल–नेपाल समूह ससद् विघटनको विरोध गर्दै आइरहेको थियो। 

माघ २२, २०७७ बिहीबार १६:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।