ओलीको फाँसीवाद अन्त्यका लागि शान्तिपूर्ण आन्दोलन थाल्यौं : श्रेष्ठ
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल माधवकुमार नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा फाँसीवादको अभ्यास गरेकाले त्यसको अन्त्यका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपरेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक एक भिडियो उनले यस्तो बताएका हुन्। उनले भने, ‘सरकारले बलजफ्ती दमनकारी क्रियाकलाप गरी फाँसीवादको अभ्यास गरिरहेको छ। त्यसलाई अन्त्य गछौं।’
ओलीमा निरंकुश प्रवृत्तिसँगै फाँसीवाद देखिएपछि शान्तिपूर्ण आन्दोलनकै रूपमा आमहड्ताल गरिएको नेता श्रेष्ठले बताए।
बलिदान गरेर बनाइएको संविधान र लोकतन्त्रको हत्या गर्न खोजिएको उनको तर्क छ। उनले भने, ‘लोकतन्त्र अपहरण गर्न खोजियो। संविधान र कानुनलाई कागजको खोष्टो बनाइयो।’
संवैधानिक अंगका पदाधिकारीको अवैधानिक ढंगबाट नियुक्ति गरेपछि त्यसको विरोधमा प्रदर्शन गरेको उनले बताए।
उनले भने, ‘हिजो संवैधानिक अंगका पदाधिकारी सदस्यहरूको अवैधानिक ढंगबाट बलजफ्ती नियुक्ति गरियो। त्यसको विरोधमा आन्दोलन गरेका हौं।’
सरकारका क्रियाकलापले द्वन्द्व निम्त्याउन खोजेको श्रेष्ठको आरोप छ। श्रेष्ठले भने, ‘शान्तिपूर्ण कार्यक्रममा आएका कार्यकर्तालाई गिरफ्तार गरिएको छ। त्यसो नगर्नुपथ्र्यो। सरकारले द्वन्द्व निम्त्याउँदैछ।’
माघ २२, २०७७ बिहीबार १२:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।