ओलीको विरोधमा दाहाल-नेपाल समूहको आमहड्ताल घोषणा 

ओलीको विरोधमा दाहाल-नेपाल समूहको आमहड्ताल घोषणा 

काठमाडौँ : सरकारले संवैधानिक आयोगहरूमा गरेको नियुक्तिको विरोधमा नेकपा दाहाल-नेपाल समूहले देशव्यापी आमहड्ताल गर्ने भएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक काम विरुद्ध भोलि (बिहीबार) देशव्यापी आमहड्ताल गर्न लागेको नेकपा दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। 

प्रतिनिधिसभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गर्दै आएको दाहाल-नेपाल समूह आबद्ध अनेरास्ववियुले आज क्याम्पस अगाडी आधा घण्टा चक्का जाम गरेको थियो। 

देशभरका क्याम्पसमा अनेरास्ववियुले पूर्व घोषित कार्यक्रम अनुसार चक्काजाम गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सञ्जीव फुयाँलले जानकारी दिए। 

बिहीबार देशव्यापी आमहड्ताल घोषणा गरेको दाहाल-नेपाल समूहले संसद् विघटन असंवैधानिक भन्दै ओली सरकारले गरेका नियुक्ति खारेज गर्नुपर्ने माग गरेको छ। 

चौतर्फी विरोधकाबिच प्रधानमन्त्री ओली समूहको नेकपाले शुक्रवार ओली कदमको समर्थनमा सभा आयोजना गर्दै छ। नारायणहिटी अगाडीको सडकमा शुक्रवार हुने सभामा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

नेकपाका दुवै समूह समर्थन र विरोधमा प्रतिस्पर्धात्मक तरिकाले सडकमा उत्रिएका छन्। ओली समर्थकले ललितपुरको सातदोवाटोबाट निकालेको मोटरसाइकल र्याली थापाथली, दरबारमार्ग, गौशाला हुँदै तीनकुने पुगेर सकिनेछ। 

दुवै समूह सडकमै निस्केर प्रदर्शनमा उत्रिएकाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्ने गरेको छ। 

माघ २१, २०७७ बुधबार १४:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।