ट्राफिक नियम उल्लङ्घनको जरिवाना अनलाइनबाट 

ट्राफिक नियम उल्लङ्घनको जरिवाना अनलाइनबाट 

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज (बुधवार) देखि ट्राफिक नियम उल्लघंनको जरिवाना भुक्तानी अनलाइनबाट लिन थालेको छ।

ट्राफिक प्रहरी महाशाखामा एसएसपी जनक भट्टराईले अनलाइनबाट जरिवाना गर्न सकिने व्यवस्थाको उद्घाटन गरेका छन्। 

जरिवाना बुझाएको रसिद लिन लाइन लाग्नु पर्ने अवस्था अन्त्यका लागि अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था आजदेखि नै कार्यान्वयनमा आएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। 

उनका अनुसार अनलाइन रकम भुक्तानी गरेको नम्बर आउने र त्यो नम्बरका आधारमा महाशाखाले खिचेको सवारी चालक अनुमति पत्र फिर्ता दिनेछ। त्यस अघि नियम उल्लङ्घन गर्ने चालकले ट्राफिक सचेतना कक्षा भर्चुअल माध्यमबाट लिनु पर्नेछ।

उद्घाटन भइरहँदा दुई जनाले अनलाइनबाट जरिवाना रकम भुक्तानी गरेका अधिकारीले जानकारी दिए। ट्राफिक प्रहरी महाशाखाले दिनमा ३ वटा भर्चुअल सचेतना कक्षा सञ्चालन गरिरहेको छ। 

अनलाइन भुक्तानीका लागि इ सेवा, कनेक्ट आइपिएस लगायतले सहजीकरण गरेका उनले बताए। 

माघ २१, २०७७ बुधबार १२:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।