स्वास्थ्यकर्मीमाथि भएको हातपातको निन्दा : चिकित्सक संघ

स्वास्थ्यकर्मीमाथि भएको हातपातको निन्दा : चिकित्सक संघ

काठमाडौँ : नेपाल चिकित्सक संघले नागरिक अभियन्ताका नाममा गुण्डागर्दी गर्ने अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।

स्वास्थ्यकर्मीमाथि भएको हातपात र स्वास्थ्य संस्थामा गरिएको अस्वाभाविक हुलहुल्जतप्रति सङ्घले निन्दा गरेको छ। 

संघले निकालेको विज्ञप्तिमा ‘माघ १९ गते भेरी अस्पतालमा कार्यरत सङ्घका आजीवन सदस्य डा. विपिन आचार्य लगायत अन्य स्वास्थ्यकर्मीमाथि डिउटी स्टेसनमै गरिएको शारीरिक हातपात, स्वास्थ्य संस्थामा गरिएको अस्वाभाविक हुल हुज्जतप्रति नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय घोर भर्त्सना र निन्दा गर्दछ।’ 

संघले सामाजिक अभियन्ताको हवालादिर्दै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएको अभद्र र अमानवीय क्रियाकलापमा संलग्न कुनै पनि व्यक्ति नागरिक अभियन्ता हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरेको छ। ‘

नागरिक अभियन्ताकै नाममा गुण्डागर्दी गर्ने आपराधिक मनोवृत्तिका जोसुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारबाही गर्न संघ स्थानीय सुरक्षा निकाय तथा सरकार समक्ष जोडदार माग गर्दछ।’ विज्ञप्तिमा लेखिएको छ।  

नेपाल चिकित्सक संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विभिन्न बहानामा हुने यस्ता प्रकारका अस्वाभाविक र गैरकानूनी गतिविधिहरुको विरोध गरेको छ।

उसले कोरोना भाइसरको बढ्दो सङ्क्रमणको समयमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरू संयमित भई चिकित्सकीय काममा समर्पित हुन समेत अनुरोध गरेको छ।   

माघ २१, २०७७ बुधबार १०:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।