सुनुवाइ नगरी संवैधानिक आयोगमा शपथ खुवाइँदै
काठमाडौँ : राष्ट्रपति कार्यालयले संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस भएकाको नाम सदर गरेर आजै शपथ खुवाइँदै छ।
कार्यालयले संसदीय सुनुवाइ नै नगरी सरकारले गरेको नियुक्तिको सिफारिसलाई सदर गरेर पद तथा गोपनीयताको शपथ गराउन लागेको हो।
पद तथा गोपनीयताको शपथ लिन संवैधानिक आयोगहरूमा नियुक्तिको सिफारिसमा परेकाहरू अहिले राष्ट्रपति कार्यालय शीतल निवास पुगिसकेका राष्ट्रपतिका प्रमुख स्वकीय सचिव शेषराज अधिकारीले जानकारी दिए।
संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्छ।
तर, सरकारले सुनुवाइका लागि पठाएका नाम सभामुख अग्नि सापकोटाले फिर्ता गरे पछि सुनुवाइ नै नगरी नियुक्ति गर्न लागिएको हो।
सुनुवाइबिना नियुक्त गर्न नहुने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् ।
गत मङ्सिर ३० गतेको संवैधानिक परिषद् बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरूमा ४५ जना व्यक्तको नियुक्तिका लाग सिफारिस गरेको थियो।
माघ २१, २०७७ बुधबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।