तीन वर्षको जेल सजाय पाएका नभाल्नीलाई तत्काल रिहा गर्न आग्रह
काठमाडौँ : मस्कोको एउटा अदालतले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उल्लङ्घन गरेको भन्दै साढे तीन वर्षको जेल सजाय सुनाएको छ।
अदालतले सजाय सुनाए लगत्तै अन्तर्राष्ट्रिय समुदायको कडा प्रतिक्रिया आएका छन्। युरोपेली महादेशकै मानवअधिकारसम्बन्धी अग्रणी निकाय काउन्सिल अफ युरोपले अदालतको फैसलाले ‘विश्वसनीयतालाई उपेक्षा’ गरेको जनाएको छ।
युकेका विदेश मन्त्री डोमिनिक रावले फैसलालाई ‘खोटयुक्त’ भनी व्याख्या गरेका छन्। त्यस्तै जर्मनीका विदेश मन्त्री हाइको मासले फैसला ‘दृढ रूपमा स्थापित नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि धक्का’ भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ। ।
अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिंकेनले नभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन्।
रुसको विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई प्रतिक्रिया जनाउँदै उनीहरूलाई आफ्नै समस्यामा केन्द्रित हुन भनेकी छन्।
माघ २१, २०७७ बुधबार ०७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।