‘संसद् विघटन मुद्दामा सर्वाेच्चले न्याय गर्नुपर्छ’ 

‘संसद् विघटन मुद्दामा सर्वाेच्चले न्याय गर्नुपर्छ’ 

बुटवल : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले संविधानसम्मत न्याय गर्नुपर्ने बताएका छन्।

कांग्रेसका भातृ संगठनहरूले आज (सोमबार) रूपन्देहीको भलवारीमा गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता खाँणले संविधानमा व्यवस्था गरेभन्दा बाहिर गएर निर्णय गरिए त्यसलाई नेपाली जनताले स्वीकार नगर्ने बताए। 

अदालतले गरेका कतिपय निर्णयलाई विगतमा जनताले अस्वीकार गरेका दृष्टान्त प्रस्तुत गर्दै नेता खाँणले संविधानलाई चुनौती दिएर गरिने निर्णयलाई जनताले शिर निहुर्याएर स्वीकार गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरे।

‘अदालतसँग मेरो आग्रह सँगसँगै चुनौती छ, संविधानमा जे प्रावधान छ, त्योभन्दा बाहिर गएर निर्णय गरियो भने त्यसलाई जनताले स्वीकार्ने छैनन्। त्यो नेपालको न्यायिक इतिहासका लागि कलंकित निर्णय कहलिने छ,’ नेता खाँणले भने। 

साधारण नागरिकले समेत ओलीले संविधान मिचेको जानकारी राखेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतलाई प्रधानमन्त्रीको छाया नबन्न आग्रह गरे।

उनले संसद् विघटनसम्बन्धी प्रस्ताव पास गर्दा राष्ट्रपतिले टेकेको भनिएको धारामा संसद् बिघटनको कुनै प्राबधान नभएको दाबी दोहोर्याए। 

संविधानका कुनै धारा, दफा, उपदफा नै उल्लेख नगरी प्रधानमन्त्री ओलीले सनकको भरमा संसद् बिघटन गरेको उनले बताए। 

संविधान रक्षाका लागि कांग्रेसले आफ्नो जीवन बलिदान दिन तयार रहेको भन्दै उनले कम्युनिस्टहरूले संविधान र लोकतन्त्र नमान्ने दाबी गरे। 

ओलीले आफूलाई राजा सम्झिए : पाण्डे 

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले ओलीले आफैलाई राजा सम्झेर नारायणहिटीको अगाडिबाट जनतालाई हुँकार दिन खोजेको बताए। 

७० करोडको घुसका लागि बार्गेनिङ गर्ने गोकुल बाँस्कोटा, सरकारी जग्गा हडपेका बिष्णु पौडेल जस्ता दलाल र भ्रष्टहरूको छत्रछायामा हिँड्ने ओली इतिहासकै भ्रष्ट र निरंकुश प्रधानमन्त्री भनेर कहलिने दाबी गरे। लोकतान्त्रिक गणतन्त्रका विरोधी ओलीले संबिधान मासेर गर्छु भनेको चुनाव नाटक मात्रै भएको टिप्पणी गरे। 

‘हामी चुनावसँग डराउँदैनौ। निर्वाचनमा जान्छौं र जित्छौं पनि। तर, संविधानबिपरीत जादैनौं,’ नेता पाण्डेले भने। 

कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्वसभापति रामचन्द्र ढकाल, महिला संघका सभापती गंगा शाही, नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेल, तरुण दलका जिल्ला अध्यक्ष सोम गुरुङ, नेताहरू भरतकुमार शाह, शन्तराम चौधरी, मिलन थापा, बुद्धिराम हरिजन, खगेस्वर पुन, रमेश शाही लगायतले संविधान विपरीतको कदम नसच्चिए आन्दोनलनको आँधी ल्याउने चेतावनी दिए। 

रूपन्देहीको भलवारीमा नेपाल महिला संघ, तरुण दल, नेविसंघ, दलित संघ, भुपू सैनिक संघ, किसान संघ, आदिवासी जनजाती संघ, मुस्लिम संघ, थारु संघ, सेनानी संघ, अपांग संघ र सांस्कृतिक संघले संयुक्तरूपमा विरोधसभा आयोजना गरेका हुन्। 

कांग्रेसले संसद् विघटनविरुछ आज देशभरका ७७ वटै जिल्लामा विरोधसभा आयोजना गरेको हो। 

माघ १९, २०७७ सोमबार २०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।