म्यानपावरसँग मिलेर युरोपमा रोजगारीको प्रलोभन देखाइ ठगी आरोपमा चार भारतीय पक्राउ
काठमाडौं : म्यानपावर कम्पनीहरूसँग मिलेर नेपाली युवाहरूलाई क्यानडालगायत देशमा रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा चार जना भारतीय पक्राउ परेका छन्।
वैदेशिक रोेजगार विभागको अनुगमन टोलीसहित खटिएको प्रहरीले टोखास्थित ट्रिपल स्टार म्यानपावरको भवनबाट भारतीयलाई आज (सोमबार) पक्राउ गरेको हो। पक्राउ परेकाहरूको नाम खुलाइएको छैन।
क्यानडा पठाउने भन्दै युवाहरूलाई ठगी गरिरहेको सूचनाका आधारमा म्यानपावर भवनमा छापा मारेको विभागले जनाएको छ।
विभागका अनुसन्धान अधिकृत कुशल बरालले छापा मार्ने क्रममा भारतीयहरूले ट्रिपल स्टार म्यानपावरसँग मिलोमतोमा नेपाली युवाहरूलाई ठगी गरिरहेको फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको बताए।
‘उनीहरू (भारतीयहरू)ले युवाहरूबाट क्यानडालगायत युरोपका विभिन्न मुलुक पठाउने भन्दै सुरुमा ५ हजार भारू लिने र थप रकम माग गरी ठगी गर्ने गरेको भेटिएको छ,’ उनले भने, ‘उनीहरू एक ठाउँमा ठगी गर्ने र त्यहाँबाट अन्यत्र सर्ने गरेकोसमेत भेटिएको छ।’
टोलीले छापा मार्ने क्रममा ल्यापटप दुई थान, बिलप्याड, ट्रिपल स्टारको मार्केटिङ बुकलगायत काजगातसमेत नियन्त्रणमा लिएको छ।
ती भारतीयहरूले यसअघि वसपार्कमा कार्यालय खोलेर बसेको र पछि टोखा सरेको अनुसन्धान अधिकृत बरालले बताए।
ठगीमा म्यानपावरको समेत मिलोमतो देखिएकाले उक्त कम्पनीमाथि थप अनुसन्धान हुने विभागले जनाएको छ।
माघ १९, २०७७ सोमबार २०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।