राती १० बजे १० वटा बख्तरबन्दको चक्रपथ परिक्रमा
काठमाडौँ : नेपाली सेनाले आज (सोमवार) राती अभ्यासका लागि बख्तरबन्द गाडीलाई चक्रपथ परिक्रमा गराउने छ। युद्ध कबज गण सितापाइलामा राखिएको गाडीलाई राती १० बजेपछि चक्रपथ परिक्रमा गराउने लागिएको नेपाली सेनाले जनाएको छ।
‘यो पहिलो पटक हुन लागेको होइन’ सैनिक जनसम्पर्क निर्देशनालयले भन्यो, ‘यो नियमित अभ्यास योजना अनुसार हुन लागेको हो।’
युद्ध कबज गण सितापाइलाबाट आजराती १० बजे १० वटा बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्नेछन्। ट्राफिक जाम नहुने रातीको समयमा बख्तरबन्द गाडी चलाउन लागिएको निर्देशनालयले जनाएको छ।
बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्न अनुमानित २ घण्टा लाग्न सक्ने सैनिक निर्देशनालयले जनाएको छ। सेनाले भन्यो, ‘बख्तरबन्द गाडी प्रशिक्षित चालकले चलाउनेछन् भने गाडीमा अरू केही हुँदैन।’
यस्तै माघ २१ गते युद्ध कवच गण सितापाइलाबाट बिहान ५ बजे ६ वटा बख्तरबन्द गाडी काभ्रेको पाँचखाल जानेछन् भने त्यही दिन बेलुकी ८ बजे काठमाडौँ आउने सैनिक निर्देशनालयले जनाएको छ।
माघ १९, २०७७ सोमबार १०:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।