कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले आज (सोमवार) कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशन गर्न आज बिहान १० बजेका लागि बोर्ड बैठक बोलाइएको छ।
नतिजा प्रकाशनको प्राविधिक काम सकिएकाले आजको बैठकले औपचारिकता दिएर सार्वजनिक गर्ने तयारी बोर्डले गरेको हो।
गत वैशाख ८ गते देखि सञ्चालन हुनु पर्ने कक्षा १२ को परीक्षा कोरोना भाइरसका कारण पूर्णाङ्क घटाएर गत मंसिर ९ गते देखि सञ्चालन गरिएको थियो ।
कोरोना महामारीका कारण यस पटक बोर्डले पूर्णाङ्कको ४० प्रतिशत हुने गरी लिखित परीक्षा लिएको थियो।
बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत अङ्क आन्तरिक मूल्याङ्कनबाट थपिनेछ। परीक्षामा सहभागी हुन चार लाख ३३ हजार परीक्षार्थीले आवेदन दिएका थिए ।
बोर्डले उक्त परीक्षाको नतिजा गत पुसको मध्य सम्ममै सार्वजनिक गर्ने बताउँदै आएको थियो । सोही आधारमा कतिपय कलेजहरूले नयाँ भर्नाको आवेदन खोलिसकेका छन् ।
माघ १९, २०७७ सोमबार ०८:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।