म्यानमारकी प्रजातन्त्रवादी नेतृ सु की सैनिक हिरासतमा
काठमाडौँ : म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु कीलाई म्यानमारको सेनाले हिरासतमा लिएको छ। राष्ट्रपति बिन मिन्टलगायत अन्य नेतालाई पनि गिरफ्तार गरिएकाले ‘कु’ को आशङ्का गरिएको छ।
केही समयदेखि म्यानमारमा सरकार र सेनाबिच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशङ्का गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो ।
गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।
आज (सोमवार) हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।
पार्टी प्रवक्ता म्यो न्यूनले सू कीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
बीबीसीका अनुसार राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना तैनाथ गरिएको छ। राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।
सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।
माघ १९, २०७७ सोमबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।