‘प्रदेशमा कांग्रेसले अविश्वासको पक्षमा मत हाल्नुपर्छ’ 

‘प्रदेशमा कांग्रेसले अविश्वासको पक्षमा मत हाल्नुपर्छ’ 

इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली समूहका मुख्यमन्त्रीविरुद्ध कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्नुपर्ने बताएका छन्। 

मोरङ क्षेत्र नम्बर ३ (ख)का तत्कालीन सभापति ईश्वरी कोइराला र उनका दाजु गोपाल कोइरालाको शोकसभामा उनले ओली नेतृत्वको सरकारले निरंकुश कदम अघि बढाइरहेकाले प्रदेशमा उक्त समूहका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्षमा कांग्रेसले मतदान गर्नुपर्ने बताएका हुन्। 

यो सरकारलाई समर्थन गर्दा अधिनायकवादको समर्थन हुने उनको तर्क छ।

प्रदेश १ मा नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका सांसद्हरूले मुख्यमन्त्री शेरधन राईविरुद्ध संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। यस्तै, बाग्मती प्रदेशमा पनि उक्त समूहका सांसद्हरूले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। 

संसद् विघटनपछि नेकपा दुई समूहमा विभाजन भएको छ। 

शोकसभामा नेता डा. कोइरालाले प्रश्न गरे, ‘संविधानमा उल्लेख नै नभएको कसरी काम भयो ? संसद् विघटनको विरुद्धमा त्यो बेला ठूलो स्वरमा बोल्ने प्रधानमन्त्री आफै त्यसको हिमायती कसरी बने ?’ 

उनले ब्रिटेनमा दुई तिहाइ सांसद्ले मात्र संसद् विघटन गर्न पाउने उल्लेख गरे। 

कांग्रेस प्रष्टरूपमै संसद् पुनःस्थापनाको पक्षमा रहेको बताउँदै उनले संसद् विघटनको असंवैधानिक कदमविरुद्ध लाग्न कार्यकर्तालाई निर्देशन दिए। 

संसद विघटनपछि प्रधानमन्त्री स्वतः कामचलाउ हुनुपर्नेमा महत्त्वपूर्ण निर्णय गर्दै हिँडेको उनको आरोप छ।

मास्क लगाउन आग्रह  

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीका कारण ज्यान गुमाएका कोइराला दाजुभाइको शोकसभा सम्बोधनको सुरुवातमै उनले सबैलाई मास्क लगाउन आग्रह गरे। 

स्वर्गीय कोइरालाको निवास लेटाङको बुधबारेमा आयोजित सभामा उनले भने, ‘कृपया मास्क लगाउनुस्। केही दिनअगाडि मैले दाइ निरन्जन कोइरालालाई कोरोनाको कारण गुमाए। आज हामी कोरोनाकै कारण मृत्युवरण गरेका मेरा मित्र गोपाल कोइराला र भाइ ईश्वरी कोइरालाको शोकसभामा छौं। कोरोनाबाट जोगिन मास्क लगाउन नभुल्नुहोला।’

माघ १८, २०७७ आइतबार १९:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।