संसद् विघटनविरुद्ध कांग्रेसको १३ वटै भातृ संगठनले भोलि ७७ जिल्लामा प्रदर्शन गर्ने

संसद् विघटनविरुद्ध कांग्रेसको १३ वटै भातृ संगठनले भोलि ७७ जिल्लामा प्रदर्शन गर्ने

काठमाडौं : नेपाली कांग्रेसको १३ वटै भातृ संगठनले संसद् विघटनविरुद्ध भोलि (सोमबार) ७७ जिल्लामा एकै साथ प्रदर्शन गर्ने भएको छ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै पार्टीका १३ वटै भातृ संगठनले प्रदर्शन गर्न लागेको जनाएको हो। प्रदर्शन गर्नेमा नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजलगायत छन्। 

प्रदर्शनमा सहभागी हुन देशभरका सबै सदस्य, समर्थक र शुभचिन्तकहरूलाई कांग्रेसले आग्रह गरेको छ। 

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरी मध्यावधि चुनावको घोषणा गरेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले यसको विरोध गर्दै आइरहेको छ।

संसद् विघटनकै विरोधमा कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रदेखि वडा तहसम्म प्रदर्शन गरिसकेको छ। 

माघ १८, २०७७ आइतबार १६:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।