दाहाल–नेपाल समूहका नेताको दाबी : प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र घोषणा गर्न सक्छन्
काठमाडौँ : नेकपाको दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले धर्मको कार्ड खेल्ने तयारी गरिरहेको गम्भीर आक्षेप लगाएका छन्।
आइतबार माइतीघरमा आयोजित धर्ना कार्यक्रममा उनले ओलीले नेपालाई हिन्दु राष्ट्र बनाउन खोजेको र २३ गते हुने आमसभामा त्यसको घोषणाको तयारी गरेको चर्चा सुनिएको बताए।
प्रधानमन्त्री ओली पशुपति मन्दिरमा दर्शनका लागि गएको र चितवनको सभामा राम मन्दिरबारे चर्चा गरेका थिए। पाण्डेले यी दुवै घटनालाई हिन्दुत्वतिर ओलीको ढल्काइको रूपमा अर्थाएका थिए।
उनले ओलीले धर्मको कुरा गरेर जनतालाई अलमल्याउन सकिन्छ भनेर कुचेष्टा गरिरहेको आरोप लगाए।
नेकपाको ओली समूहले माघ २३ गते नारायणहिटी अगाडिको सडकमा जनप्रदर्शन गर्दै छ। उनले त्यही दिन हिन्दु राष्ट्र घोषणा गर्ने चर्चा चलिरहेको दाबी गरे।
माघ १८, २०७७ आइतबार १५:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।