ओली समूहको जनसभा नारायणहिटी सडकमा

ओली  समूहको  जनसभा  नारायणहिटी  सडकमा

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बाग्मती प्रदेश कमिटीले माघ २३ गते काठमाडौँ गर्ने जनसभाको तयारी गरेको छ ।

प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा ओली समूहको बाग्मती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकमा कार्यकर्ता र समर्थकलाई सहभागी गराउने जनाएको छ। 

कमिटीका सचिव खेमप्रसाद लोहनीले नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन सभा आयोजना गरिएको र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने सभाका सांस्कृतिक झाँकी, वेशभूषासहित राष्ट्रिय एकता प्रदर्शन तथा राष्ट्रिय जन सांस्कृतिक महासङ्घबाट साङ्गीतिक प्रस्तुति गराइनेछ ।

सभा सम्पन्न गर्न नेकपा ओली समूहका काठमाडौँ उपत्यका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

माघ २३ गते माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत स्थानबाट कलाकारसहितको साङ्गीतिक प्रस्तुति लिएर टोली जुलुसमा सहभागी हुने कमिटीले जनाएको छ। 

नेकपा ओली समूह निर्वाचनको तयारीमा नेता कार्यकर्ता उतारेर जनसभा गर्दै छ भने नेकपाकै दाहाल नेपाल समूह असंवैधानिक कदम खारेज गर्न दबाब दिँदै तेस्रो चरणको आन्दोलनमा छ। 

माघ १८, २०७७ आइतबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।