संवैधानिक इजलासमा प्रश्न : भारतसँग युद्धमा जान चुनाव चाहिएको हो?
काठमाडौँ : अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले नेपाल भारत युद्धमा जानलाई चुनाव चाहिएको हो भनेर प्रश्न गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता पौडेलले भने,‘नेपाल भारत सीमा विवाद आएको छ र? यति सहज अवस्थामा विघटन गर्नुपर्ने?’
उनले असहज अवस्था नभई प्रतिनिधिसभा विघटन गरिएको बताए।
उनले बेलायत युरोपियन युनियनबाट छुट्टिने समयमा भएको जनमत सङ्ग्रहको प्रसङ्ग उल्लेख गर्दै असहज परिस्थितिमा मात्रै विघटनको परिकल्पना गरिएको उल्लेख गरे।
पौडेलले भारतसँग सीमा विवाद आएको र युद्धमा जानुपर्ने अवस्थामा मात्रै विघटन गरेर चुनावमा लान सकिने तर्क गरे।
उनले सेना र प्रशासनबाट सहयोग भएको सुनौलो अवस्थामा विघटन गर्नु संसदमाथि जालसाजी भएको बताए । अधिवक्ता अमिता गौतम पौडेलले कानुनी र संवैधानिक ग्याप भएको अवस्थामा मात्रै आवश्यकताका आधारमा विघटनको सम्भावना रहेको उल्लेख गरिन्।
उनले विघटनको निर्णय कुनै पनि आधारमा आवश्यकताका आधारमा नभएको जिकिर गरिन्। प्रधानमन्त्रीको जवाफमा आफ्नै कुरा आफैसँग बाझिएको उनको तर्क थियो।
माघ १८, २०७७ आइतबार १३:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।