विश्व कुष्ठरोग दिवस : नेपालमा यो वर्ष १८५३ थपिए  

विश्व कुष्ठरोग दिवस : नेपालमा यो  वर्ष १८५३ थपिए  

काठमाडौँ : विश्व कुष्ठरोग दिवस आज, विभिन्न कार्यक्रम गरेर मनाइँदै छ। यो दिवस सन् १९५४ देखि विश्वभर मनाउन थालिएको हो।

कुष्ठरोग लागेका व्यक्ति प्रति जनचेतना फैलाउने उद्देश्यले नेपालमा पनि यो दिवस मनाउने गरिएको छ। दिवसका अवसरमा आनन्द वन अस्पतालले विभिन्न कार्यक्रम गर्न लागेको जनाएको छ।

यस्तै कुष्ठप्रभावितहरुको संस्था आइडिया नेपालले पनि जनचेतना मूलक कार्यक्रम गर्न लागेको बताएको छ। 

समयमै उपचार गरे यो रोग निको हुने र अङ्गभङ्ग हुन नपाउने सन्देश दिन दिवस मनाउने गरिएको छ। देशका विभिन्न अस्पतालमा हरेक वर्ष ३ हजार नयाँ बिरामी उपचारका लागि आउने गरेकोमा यो वर्ष नयाँ बिरामीको सङ्ख्या गतबर्षको भन्दा ४० प्रतिशत कम भएको छ।

कोरोना भाइरसका कारण पनि नयाँ केस कम आएको हुन सक्ने आनन्द बन अस्पतालका डाक्टर प्रदीप सापकोटाले बताए। सन् २०२० मा कुष्ठरोग लागेका नयाँ केस १ हजार ८ सय ५३ जना रहेको डाक्टर सापकोटाले उकेरालाई जानकारी दिए। 

शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसुस हुँदै जानु कुष्ठरोगका लक्षण रहेको डाक्टर सापकोटाले बताए। 

 

 

माघ १८, २०७७ आइतबार ०८:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।