कोरोना खोपबारे प्रधानमन्त्री ओलीले बदले बोली : तीन महिना हैन, सन् २०२१ मा खोप

कोरोना खोपबारे प्रधानमन्त्री ओलीले बदले बोली : तीन महिना हैन, सन् २०२१ मा खोप

काठमाडौँ : माघ १४ गते कोरोना विरुद्धको खोप अभियान सुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए ‘तीन महिनाभित्र सबै नेपालीले यो खोप निःशुल्क लगाइ सक्छन्। 

माघ ८ गते भारतबाट काठमाडौँ आएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलाई लगाउन सुरु भएको आज शनिवार चौथो दिन हो।  

नेपाल भित्रिएको १० लाख डोज खोप ४ लाख ३० हजारलाई मात्रै लगाइदैछ जो अंग्रपक्तिमा खटिएका छन्। पहिलो खोप लगाएको चार हप्ता भित्र अर्को खोप अहिले लगाएकाले नै लगाउनेछन्। 

फ्रन्टलाइनमै खटिएका अरूलाई लगाउने खोप कहाँबाट कहिलेसम्म ल्याउने कुनै तयारी भएको छैन। तर प्रधानमन्त्री ओलीले फ्याट्ट बोले ‘तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोना भाइरसविरुद्धको खोप लगाइसकिन्छ।’ 

तर, भारतबाट अनुदानमा भित्रिएको खोप लगाउन सुरु भएको चौथो दिनमै प्रधानमन्त्री ओलीले बोली फेरेका छन् कोरोना खोपबारे। उनले प्रारम्भमा सबैलाई तीन महिनाभित्र खोप लगाइसक्ने बताए। अहिले आएर फ्रन्टलाइनमा खटिने सबैलाई तीन महिनामा खोप लगाउने भनेको दाबी गरेका छन्।

उनले माघ १४ मा भनेका थिए, ‘कोही पनि नेपाली नागरिक व्यक्तिले निःशुल्क यो खोप प्राप्त गर्ने छन्। चाहे हामी अनुदानको रूपमा प्राप्त गरौँ, यसपल्ट हामीले प्राप्त गरेका छौ, अथवा हामीले किन्न परोस्। तीन महिना भित्र हामीले सबै सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्नेछौ।’ 

शनिवार चितवन पुगेर उनले भने ‘मैले भनेको छु, एकदमै कोर फ्रन्टमा रहेर, कठिनाइ झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी तीन महिना भित्र सम्पन्न गर्नेछौ। बाँकीलाई क्रमशः हामी यो सन् २०२१ भित्र खोप लगाइसकेर कोभिड १९ लाई हामी नेपालबाट भगाउँछौ।’ 

 

माघ १७, २०७७ शनिबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।