सांसद गगनप्रति आक्रामक बन्दै मेयर शाक्य : कमल पोखरीमा थापाले गरेको खर्च विवरण नदेखाए हिनामिना गरेको ठहर्ने दाबी

सांसद गगनप्रति आक्रामक बन्दै मेयर शाक्य : कमल पोखरीमा थापाले गरेको खर्च विवरण नदेखाए हिनामिना गरेको ठहर्ने दाबी
कार्यक्रममा अरविनमान सिंहलाई सम्मान गर्दै मेयर शाक्य।

शुक्रवार पत्र पठाएर थापालाई कमलपोखरीमा उनले गरेको खर्च विवरण मागेका मेयर शाक्यले शनिवार गगन थापाहरूले कमलपोखरीलाई छठ पोखरी बनाउन खोजेको आरोप लगाए।

नेवा : राष्ट्रिय पत्रकार दबु काठमाडौँ जिल्ला शाखा कार्यालयको कार्यालय उद्घाटन कार्यक्रममा उनले थापा लगायत स्थानीय जनतासँग पटक–पटक छलफल गरेर बनाएको डिजाइन अनुसारै अहिले पोखरी निर्माणको काम अगाडि बढाएको दाबी गर्दै पुनर्निर्माण धेरै काम सम्पन्न भएपछि अनावश्यक बखेडा झिकेर राजनीति गर्ने काम भएको बताए।

 ‘गगन थापाहरू कमल पोखरीलाई छठ पोखरी बनाउन चाहन्थेँ, मैले त्यसलाई सांस्कृतिक पोखरी बनाउन चाहेँ,’ शाक्यले दाबी गरे, ‘काठमाडौँ महानगरले गर्न खोजेको विकासको काममा राजनीतिक स्वार्थ राखेर अवरोध गर्दा समस्या हुने गरेको छ । कमलपोखरीमा पनि त्यही गर्न खोजिदैँछ ।’

उनले कमल पोखरीमा सांसद थापाले अहिलेसम्म कति खर्च गरेको हो त्यसको लिखित विवरण माग्दै पत्र पठाएको बताउँदै यदि उनले विवरण दिन नसके कमल पोखरीमा खर्च भयो भनिएको रकम हिनामिना गरेको ठहरिने दाबी समेत गरे।
 

 ‘उहाँ (गगन थापा) स्वयमले मलाई लिखित पत्र पठाई कमल पोखरीमा सांसद कोषबाट करोडौँ रकम खर्च गरिसकेको भनी जानकारी दिएका कारण उहाँलाई लिखित पत्र नै पठाई कमल पोखरीमा उहाँले अहिलेसम्म गरेको खर्च विवरण पठाउन अनुरोध गरेको हुँ’ शाक्यले भने।

 थापाले पटक–पटकका छलफलमा पनि त्यहाँ सांसद विकास कोष र निजी स्रोतबाट तारवारलगायतका काम गरेको दाबी गर्ने गरेको शाक्यले बताए।

 ‘अहिले राजनीति गर्न सजिलो छ, सम्पदाप्रेमी भनेपछि जे गर्न पछि छुट पाउने अवस्था भइरहेको छ’ शाक्यले भने, ‘यसले विकास निर्माणमा अवरोध मात्रै गर्छ । कमल पोखरीको माटो दलेर बालुवाटार घेर्न जाने कुरा कतै मेल खाँदैन । कमलपोखरीको माटोको भावुकतासँग जोडेर राजनीति गर्ने कार्य सकारात्मक होइन ।’

 

माघ १७, २०७७ शनिबार २०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।