प्रधानमन्त्री ओलीद्वारा भरतपुर सिटीहलको शिलान्यास, मेयर रेणु आइनन्
सहरी विकास मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, सहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत सहभागी थिए। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने कार्यक्रममा सहभागी भइनन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले सिटीहलको ताम्रपत्रसमेत अनावरण गरेका थिए।

चितवनमा ठूलो सभासमारोह आयोजना गर्न हल अभाव भएपछि सरकारले सिटीहल निर्माण सुरु गरेको हो।
सिटीहल निर्माणका लागि सहरी विकास डिभिजन कार्यालय, चितवन र इन्डो सगुन रौताहा जेभीबीच सम्झौता भएको छ। सिटीहलको निर्माण लागत ७७ करोड ७७ लाख रूपैयाँ छ।
सभागृहमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ। यस्तै, ३०० क्षमताको कन्फरेन्स हल रहने र विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने बताइएको छ।
सभागृहमा पुस्तकालय, सूचना प्रविधि कक्ष, अतिविशिष्ट कक्ष, फुड ल्यान्ड, बगैंचालगायत हुनेछ।
माघ १७, २०७७ शनिबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।